भाबी अमेरिकी राष्ट्रपती ट्रम्प की वाईडन ? के भन्छ मत सर्बेक्षण

अमेरीकामा चुनाबी सरगर्मी सुरु भएको छ । अमेरिकी मतदाताले आगामी नोभेम्बर २ मा डोनल्ड ट्रम्प र जो बाइडनमध्ये कसलाई आगामी चार वर्षका लागि ह्वाइट हाउस पठाउने भनेर निर्णय गर्नेछन् ।
रिपब्लिकन पार्टीबाट निर्वाचित पदासीन राष्ट्रपति ट्रम्पसँग डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गर्दैछन् ।
सन् १९७० को दशकदेखि राजनीतिमा सक्रिय बाइडन सन् २००९ देखि सन् २०१७ सम्म बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए । निर्वाचन नजिकिँदै गर्दा मत सर्वेक्षण कम्पनीहरूले मतदाताहरूले कुन उम्मेदवारलाई रुचाएका छन् भनेर सोधिरहेका छन् ।
हामी यहाँ ती सर्वेक्षणबारे जानकारी दिनेछौँ । हामी तिनले कसले निर्वाचन जित्छ भन्ने विषयमा के कुरा स्पष्ट पार्न सक्छन् र के कुरा स्पष्ट पार्न सक्दैनन् भन्ने पनि बताउनेछौँ ।
उम्मेदवारहरूको देशभरि स्थिति कस्तो छ ?
राष्ट्रिय मत सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियता बुझ्न सघाउँछन् । तर तिनकै आधारमा निर्वाचनमा को विजयी हुन्छ भनेर पूर्वानुमान गर्न उचित हुँदैन ।
सन् २०१६ को निर्वाचनलाई उदाहरणार्थ लिऊँ। हिलरी क्लिन्टन मतसर्वेक्षणमा अगाडि थिइन् । डोनल्ड ट्रम्पले भन्दा उनले झन्डै ३० लाख बढी मत पाइन् । तर उनी पराजित भइन् । किनभने अमेरिकामा इलेक्टरल कलेज अर्थात् निर्वाचक मण्डल प्रणालीबाट निर्णय हुन्छ। त्यसैलै धेरै मत आउँदैमा निर्वाचन जितिन्छ भन्ने छैन ।
यो कुरा एकातिर राखौँ । देशव्यापी मतसर्वेक्षणहरूमा वर्षको अधिकांश समय डोनल्ड ट्रम्पभन्दा जो बाइडन अगाडि देखिएका छन् ।
देशव्यापी मतसर्वेक्षणमा को अगाडि छ ?
बीबीसी ‘मतसर्वेक्षणहरूको सर्वेक्षण’ ले विगत १४ दिनमा गरिएका विभिन्न देशव्यापी सर्वेक्षणहरूलाई हेर्छ तथा ’मध्यस्थ मान’ प्रयोग गरेर ट्रेन्ड लाइन बनाउँछ ।
केही सातायता ५० प्रतिशत मतदाताले उनलाई रुचाएको देखिएको छ । कहिलेकाहीँ त उनी १० अङ्कले अग्रता लिन्छन् ।
यसविपरीत सन् २०१६ मा सर्वेक्षणहरू त्यति धेरै स्पष्ट थिएनन् । निर्वाचनको दिन नजिकिँदै गर्दा बेलाबेलामा ट्रम्प र क्लिन्टनबीच केवल दुई प्रतिशतको भिन्नता देखिएको थियो ।
कुन–कुन राज्यले निर्वाचनको छिनोफानो गर्छन् ?
गत निर्वाचनमा क्लिन्टनले मतको सङ्ख्याभन्दा स्थान महत्त्वपूर्ण हुने पत्तो पाइन् ।
अधिकांश राज्यमा सधैँ उसैगरी मतदान हुन्छ । अर्थात् केही सीमित राज्यमा दुवै उम्मेदवारसँग जित्ने सम्भावना हुन्छ ।
ती राज्यसँग कसलाई जिताउने र कसलाई हराउने क्षमता हुन्छ । तिनलाई ‘ब्याटलग्राउन्ड स्टेट’ अर्थात् कडा प्रतिस्पर्धा हुने राज्य भनिन्छ ।

सन् २०१६ मा यो राज्यमा कसले जितेको थियो?
आईअवा ४६.५५ ४६.०५ ट्रम्प : ९.५५
एरिजोना ४८.३५ ४५.२५ ट्रम्प : ३.६५
ओहायो ४८.५५ ४६.०५ ट्रम्प : ८.२५
जोर्जा ४६.८५ ४६.५५ ट्रम्प :५.२५
टेक्सस ४५.२५ ४८.४५ ट्रम्प :९.१५
नभाडा ४९.०५ ४३.७५ क्लिन्टन :२.४५
नोर्थ क्यारलाईना ४७.१५ ४६.६५ ट्रम्प : ३.७५
न्यूह्याम्शर ५१.८५ ४३.४५ क्लिन्टन : ०.४५
पेन्सल्भेनिया ५०.७५ ४४.२५ ट्रम्प : ०.७५
फ्लोरिडा ४७.८५ ४५.८५ ट्रम्प : १.२५
भर्जिनिया ५१.३५ ४०.३५ क्लिन्टन : ५.४५
मिनिसोटा ५०.४५ ४१.०५ क्लिन्टन : १.५५
मिशिगन ४९.२५ ४४.०५ ट्रम्प :०.२५
विस्कन्सन ४९.८५ ४४.३५ ट्रम्प : ०.८५
आईअवा, ओहायो र टेक्ससमा आठदेखि १० प्रतिशत मतान्तरले उनी विजयी भएका थिए। तर अहिले तीनवटै राज्यमा बाइडन र ट्रम्पको उस्तै स्थितिमा देखिएका छन् । सर्वेक्षणले गर्ने सङ्केत अङ्कले ट्रम्पले किन जुलाईमा आफ्नो निर्वाचन अभियानका प्रबन्धक फेरे र उनी किन बारम्बार “मिथ्या सर्वेक्षण“ भन्ने गर्छन् भन्ने बुझाउँछ ।
बाजी थाप्नेहरू अझै पनि ट्रम्पलाई पन्छाइहाल्ने पक्षमा छैनन्। अहिले पनि उनीहरू ट्रम्पले निर्वाचन जित्ने एकतिहाइ सम्भावना देख्छन् ।
के कोरोनाभाइरसले ट्रम्पको अङ्कगणितलाई प्रभाव पारेको छ?
यो वर्षको आरम्भदेखि नै अमेरिकामा कोरोनाभाइरस महामारीबारे समाचार प्रमुखताका साथ प्रकाशित भएको छ । अनि राष्ट्रपति ट्रम्पको गतिविधिबारे दलगत आधारमा भिन्नभिन्न प्रतिक्रिया आएको छ ।
मध्यमार्चमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेर राज्यहरूलाई कोरोनाभाइरस महामारीन नियन्त्रण गर्न ५० अर्ब डलर उपलब्ध गराएपछि उनको लोकप्रियता उत्कर्षमा पुगेको थियो ।
त्यो बेला ५५ प्रतिशत अमेरिकीहरूले उनको कामलाई अनुमोदन गरेको इप्सस नामक मतसर्वेक्षण कम्पनीको तथ्याङ्कमा देखिन्छ । तर त्यसपछि उनले डेमोक्र्याटहरूबाट प्राप्त समर्थन गुमाए। तर रिपब्लिकनहरूले समर्थन गरिराखे ।
ताजा विवरणअनुसार अहिले उनका आफ्नै समर्थकले दक्षिणी र पश्चिमी राज्यहरूमा कोरोनाभाइरस महामारी फेरि फैलिएपछि ट्रम्पले गरेको कार्यबारे प्रश्न उठाएका छन् ।
अमेरिकी चुनाव २०२०
जुलाई महिनाको आरम्भतिर उनलाई रिपब्लिकनहरूको समर्थन झरेर ७८ प्रतिशत भएको थियो । यसले उनी किन कोरोनाभाइरससम्बन्धी विषयप्रति आशावादी छैनन् र स्थिति अझै बिग्रिन सक्ने चेतावनी दिइरहेका छन् भन्ने बुझाउन सक्छ ।
केही समयअघि उनले पहिलो चोटि मास्क लगाए अनि देशवासीहरूलाई पनि त्यसै गर्न आग्रह गरे। मास्क प्रभावकारी हुने भन्दै उनले सबैलाई “राष्ट्रप्रेम“ देखाउन भने ।
यूनिभर्सिटी अफ वाशिङ्टनका विज्ञहरूले निर्वाचनको दिनसम्म अमेरिकामा मृतकको सङ्ख्या २,५०,००० नाघ्ने अनुमान गरेका छन् ।
सर्वेक्षणहरू कति विश्वसनीय हुन्छन् ?
सन् २०१६ मा मत सर्वेक्षणहरूले गरेको सङ्केत मिलेन भनेर तिनलाई खण्डन गर्न सजिलो छ । राष्ट्रपति ट्रम्पले बारम्बार त्यसै गर्ने गरेका छन् । तर यो पूर्णतः सत्य हैन ।
अधिकांश राष्ट्रिय मत सर्वेक्षणहरूले हिलरी क्लिन्टन केही प्रतिशतले अगाडि भएको देखाएका थिए । तर यसको अर्थ उनीहरू असत्य थिए भन्ने हैन । उनले आफ्ना प्रतिद्वन्द्वीभन्दा ३० लाख बढी मत ल्याएकी थिइन् ।
सर्वेक्षकहरूले सन् २०१६ मा स्नातक तह उत्तीर्ण गरेका मतदाताहरूको प्रतिनिधित्व राम्ररी गराउन सकेका थिएनन् । तसर्थ कडा प्रतिस्पर्धा हुने केही राज्यमा ट्रम्पलाई हुने फाइदा पत्ता लाग्न सकेको थिएन । अहिले अधिकांश मत सर्वेक्षण कम्पनीहरूले यो गल्ती सच्याइसकेका छन् ।
तर यो वर्षको स्थिति कोरोनाभाइरस महामारीका कारण सामान्य अवस्थाको भन्दा अनिश्चित छ । अहिले अर्थतन्त्रमा परेको प्रभाव र मानिसहरूले नोभेम्बरमा कसरी मतदान गर्छन् भन्ने पनि अनिश्चित छ । त्यसैले निर्वाचन हुन धेरै दिन बाँकी भएकाले मतसर्वेक्षणहरूलाई शङ्काको दृष्टिले हेर्नुपर्छ ।
बिबिसी नेपाली सेवाबाट साभार
