
पुस १४, डोटी । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परीक्षण कार्यक्रम आइतबार जिल्ला समन्वय समिति डोटीको सभा हल सिलगढीमा सम्पन्न भएको हो ।
संस्था मार्फत आर्थिक वर्ष भरी सम्पादन गरिएका क्रियाकलाप, बजेट तथा प्राप्त उपलब्धि सहित कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन संस्थाका महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण कार्यक्रमका कार्यक्रम संयोजक गिरिराज पाठकले प्रस्तुत गरेका थिए । संस्थाले गत वर्ष महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण कार्यक्रम, एकीकृत सामुदायिक विकास परियोजना, नयाँ आशा परियोजना, जाजरकोट अर्थकुइक रिकभरि परियोजना र सुदूरपश्चिममा बहिरा विद्यार्थी सहयोग कार्यक्रम गरी पाँच ओटा परियोजना मार्फत कार्य गरेको छ ।
वार्षिक समीक्षा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका कार्यवाहक संयोजक राम बहादुर खड्काले संस्थाले समाजका सीमान्तकृत वर्ग केन्द्रित कार्यक्रम गरिरहेकोमा खुसी व्यक्त गरे । बालविवाह, छाउपडी प्रथा जस्ता सामाजिक विकृतिको न्यूनीकरणमा संस्थाले गरेको भूमिकाको व्याख्या गर्दै प्रमुख अतिथि खड्काले यस्ता विकृतिको अन्त्यका लागि सबै निकाय तथा सरोकारवालाले हातेमालो गर्नुपर्ने बताए ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले देशको विकासमा संघसंस्थाको भूमिका अहम् रहेको बताए । खड्काले स्थानीय सरकारले गर्नुपर्ने विभिन्न सामाजिक तथा विकास निर्माणका कार्यमा संस्थाले काम गरिरहेकाले समुदायका नागरिक लाभान्वित भएको र आगामी दिनमा पनि स्थानीय सरकारसँग सहकार्य गर्न आग्रह गरे ।
संस्थाले हरेक वर्ष सामाजिक परीक्षण कार्यक्रम गरेर आफूले गरेका कार्यसम्पादनमा नागरिक प्रतिको उत्तरदायित्व पुरा गर्ने गरेको सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालका अध्यक्ष खडकराज शर्माले बताए । लामो समयदेखि क्रियाशील संस्थाले विगतमा जस्तै आउने वर्षहरूमा पनि सरकारसँग सहकार्य गरेर सरकारलाई साथ दिन तयार रहेको अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकाका कार्यवाहक संयोजक राम बहादुर खड्का, दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिंह खड्का, उप–प्रमुख कलावति साउद, डोटीका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, लाभान्वित वर्ग, सरोकारवाला र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । सामाजिक परीक्षणको सहजीकरण पत्रकार नवराज जोशीले गरेका थिए ।
