प्रेमको कला र दुनियाँको चाला
कलियुगमा मानिसको धर्म र कर्मको काम केवल मानिसका अगाडि राम्रो देखिन तथा देखावटीका लागि हुनेछ। पृथ्वी भ्रष्ट मानिसले भरिनेछ। मानिसले सत्ता प्राप्तिका लागि एकले अर्कालाई हत्यासम्म गर्नेछ।
धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको आयु, सन्तुलित जीवन, शारीरिक शक्ति तथा स्मृति सबै दिनप्रति दिन घट्दै जानेछन्। कसरी यस्तो हुन्छ त? एउटामात्र कारण हो आफूलाई प्रेम गर्ने कलाको अभाव।
प्रेम, प्रेम पनि सिकाउनु र जान्नुपर्ने विषय हो र ? अनि प्रेम त अरूलाई गर्ने विषय पो त, प्रश्न उठ्न सक्छ ! यसलाई स्पष्ट पार्न करिव पाँचहजार वर्ष पहिले श्रीमद्भागवत पुराणमा उल्लेखित संस्कृत श्लोक छ।
दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम्।
एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥
ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया।
कालेन बलिना राजन् नङ्क्ष्यत्यायुर्बलं स्मृतिः ॥
जानकारी र व्यवहारमा
आज सूचना र प्रविधिको युगमा यति धेरै जानकारीका सामग्रीहरूको संकलन र चिन्तन गरेको छ मानिसले तर आफैंलाई प्रेम गर्न जानेको छैन। सुन्दा विश्वास नलाग्न सक्छ तर आफैंलाई प्रेम गर्न जानेको भए आज जुन द्विविधामा मानिस छ त्यसबाट मुक्ति पाउने थियो।
के यि दुई गुण कायम गरेको छ त आर्थिक सम्पन्नता र बाहिरी आर्जनका साथसाथै ? आफूलाई प्रेम गर्ने व्यक्ति ध्यानस्थ हुन्छ त्यसको परिणाम भनेको ऊ हरक्षण, हर कर्मप्रति आत्मस्मरणका साथ लाग्दछ। अहिलेको मानिस सुविधासँगै द्विविधा र अभावमा देखिन्छ, के यस्तो व्यक्ति ध्यानस्थ र होशपूर्ण मान्न सकिएला ?
शास्त्रमा समेत उल्लेख छ- मानिस सही मार्गमा छ भन्ने कुरा तब थाहा लाग्छ जब उसले धर्म, अर्थ, कर्म र मोक्षलाई संग संगै लिएर जान सक्छ।
लोक कल्याण
आज विश्वमा जतिपनि समृद्ध राष्ट्रहरू छन् उनीहरूले आफ्नो इतिहास र संस्कारलाई भुलेर जीवनशैली अराजकतामा लगेका छैनन्।
हामीले भने हाम्रा नीति शास्त्र र अनुशासनका मुलभूत वाणी र सूत्रहरू समेत भुल्दै गएका छौं। हाम्रा ध्यान, योग, पुराण, नीति शास्त्र लगायतका कुराहरू अवलम्बन गर्दा पाखे हुने र पश्चिमा संस्कारको अनुकरण गर्दा सभ्य भइने भ्रमले थिचेको छ।
संविधान नयाँ बनाएर लोकतन्त्र र लोक कल्याणका कुरा गर्दै आएपनि व्यवहारमा त्यसो भएको छैन। किनकी राष्ट्रको चौतर्फी विकासको लागि आवश्यक लोक कल्याणकारी काम हुन उच्च ओहोदामा पुगेका व्यक्तिहरूको जीवनशैली र नैतिकतामै यो गुण देखिनुपर्दछ।
लोक कल्याणका लागि शास्त्रले गरेका धर्म, अर्थ, कर्म र मोक्षलाई आधुनिक समाज र व्यक्तिको जीवनशैलीमा कसरी लागू गर्नुपर्दछ त्यो जान्नु आवश्यक छ। सरसर्ती हेर्दा अर्थोपार्जन गर्ने, आफ्नो सहजताको लागि आधारभूत आवश्यकतापूर्तिको कर्म गर्ने र सनातनदेखि मानिआएको आधारमा एउटा न एउटा धर्मलाई जीवनको आधार बनाएर आस्था प्रकट गर्ने परम्परा त चलिआएको छ तर मोक्षको बारेमा केहि प्रतिशतलाई मात्र ज्ञान छ।
धर्म र जापानी पाहुनाको प्रश्न
केहि वर्ष अगाडि जापानका एक मित्र नेपाल भ्रमणमा आउनुभएको थियो। दसैंको नवमीको दिन परेको थियो, संयोगवश उहाँलाई लिएर हामी बसन्तपुर दरवार क्षेत्र पुग्यौँ। त्यो दिन त्यहाँ पशुवलीको माहोल थियो। उहाँले आश्चर्य मान्दै सोध्नुभयो- यो के गरेको ? मलाई हत्तपत्त जवाफ आएछ- यो हिन्दुधर्मको सनातन देखि चलिआएको एउटा परम्परा हो। उहाँले भन्नुभयो- “तिमीहरूको धर्मको रूप यो हो भने पाप कस्तो होला ?” आफू शाकाहारी भएरपनि धेरै सवालजवाफ गर्ने इच्छा भएन आफ्नै पाहुनासँग तर मौनतामा उहाँको कुराले धेरै बिझाईरहयो।
कसैको आड लिएर आफ्नो सुख प्राप्त गर्न खोज्नु र अरूको उपेक्षा गर्नु अर्थात् बहुजन सुखाय, बहुजन हितायलाई बिर्सेर केवल आफ्नो स्वार्थको लागि कुनै मान्यता र परम्परा अंगाल्नु धर्म हुँदैन। धर्मको नाममा भित्रिएको विकृतिप्रति पनि त्यत्तिकै सजग हुनुपर्ने अवस्था छ। किनकी, धर्म मानिसको स्वभाव हो, त्यो स्वभावमा प्रसन्नता, प्रफुल्लता, कल्याण, ध्यान र योग संगसंगै सन्तुलित जीवनशैली मार्फत प्रष्फुटन हुनुपर्दछ।
मानिस आफ्नो स्वभावमा रहेर जीवनशैली बाँच्ने तरिका जान्नासाथ अधर्म र पाप आफैं नाश भएर जान्छन्। हो, यो आफ्नो स्वभावलाई जान्न पनि व्यक्तिले पहिले आफूलाई प्रेम गर्न जान्नुपर्दछ। आफूलाई प्रेम गर्न जान्नेले मात्र वर्तमानमा होशपूर्ण भएर कार्य गर्न प्रेरित हुन्छ।
नपुग्दो धन किन र कति
शास्त्रमा उल्लेख छ मानिसलाई दैनिकी चलाउन, परिवार पाल्न र परोपकारका लागि अर्थ आर्जन गर्नुपर्छ। सही तरिकाले सही अर्थमा आर्जन गरेको धनले मात्र मानिस सही मार्गमा छ भनेर छुट्टयाउन सकिन्छ। जीवनलाई सहज बनाउन मानिसले सम्यक रूपमा अर्थोपार्जन गर्नुपर्छ। पशुपन्छीले अर्थोपार्जन नगरेपनि जीवन चल्छ।
सही आर्जन त्यो हो जसले सन्त कविरले भने झैं- “साई ह्में इतना दिजीय, जहाँ में कुटुम्ब समाउँ, साधु ना भुखा जाय, में भि भुखा ना रहूँ।“ आफूलाई प्रेम गर्ने र अरूलाई ध्यान दिनेले मात्र सम्यक अर्थोपार्जन गरेर आफू खुसी र लोकलाई कल्याण गर्न सक्दछ। आफूलाई आवश्यक भन्दा बढी धन जम्मा गर्ने सोच बनाउनु पाप हो।
गरिव जनतालाई झुक्याएर, सार्वजनिक सम्पत्तिमा आँखा गाडेर, विकासका कार्यमा छुट्टयाएको बजेट आफ्नो खोल्तिमा हालेर, भ्रष्टाचार, अनियमितता गरेर कमाउन कम्मर कस्नेहरूले जीवनको उत्तरार्द्दमा के पश्चाताप होला सोच्न भ्याएका छन् त ?
स्वयंलाई प्रेम गर्नु ध्यानपूर्ण, होशपूर्ण हुनु हो। अरूलाई ध्यान दिनु प्रेम हो। यो सूत्र जान्ने हो भने त आफ्नो स्वार्थमा मात्र ध्यान नगएर अरूको लागि सोच्ने आत्मस्मरणमा रहने कला प्राप्त हुन्थ्यो। जसको परिणाम लोभ र मोहबाट छुटकारा मिल्थ्यो।
अत्याधिक धन आर्जनको लालसा नै लोभ, कामना र मोह प्रतिको आकर्षण हो। आफूलाई किन प्रेम गर्ने ? किनकी आफूलाई प्रेम गर्न थालेपछि अरूप्रतिको इर्ष्या र द्वेष विदा भएर जान्छ। हरेक कार्यमा आत्मस्मरणको बोध हुन्छ अनि हरेक कर्म र सम्बन्ध पवित्र बन्दछन्।
कर्मको कुरा
नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्राकर्मण:।
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मण:।।
गीताको श्लोकमा उल्लेख छ- मानिस कर्म नगरिकन त एकछिन पनि बस्न सक्दैन। कर्म नगरी जीवन निर्वाह पनि हुँदैन। तर, कर्म यसरी गर कि तिम्रो कर्म बहुजन हिताय, बहुजन सुखाय र स्वयंको हितमा पनि होस्। गर्न खोजेको सबै काम र पाउन चाहेको सबै चिज तिम्रो हितमा नहुन सक्छ त्यसैले अब होशपूर्ण बन।
होशले भरिपूर्ण हुनु के हो ? स्वयंप्रति प्रेम गर्नु र अरूलाई ध्यान दिनु। यहि एउटा सूत्र र कलाले जीवनका सबै आयामलाई सन्तुलन राख्न मद्दत पुर्याउँछ। अर्थोपार्जनको लागि कर्म गर्नु या जीवन सहज बनाउनको लागि मात्र कर्म गर्ने भन्ने सोचेको हुन्छ मानिसले। तर, उसले कसरी कर्म गरेको हुन्छ आफैंमा होशपूर्ण भएको पाइन्न। विचारको माध्यमबाट कर्म हुन्छ।
हामी स्वयंप्रति कुन विचार राख्छौं र अरूको प्रति कस्तो विचार राख्छौं त्यसकै आधारमा कर्म तय हुन्छ अनि परिणाम पनि त्यस अनुसार आउँछ। त्यसैले आफूप्रति प्रेम र अरूप्रति ध्यान दिनासाथ विचार सकारात्मक हुन्छ। सकारात्मक विचारकासाथ गरेको कर्मको परिणाम सकारात्मक नै आउँछ जो सर्वजन हिताय बन्छ। शब्दको माध्यमबाट कर्म हुन्छ।
हाम्रो बोलीबचन, हामीले अभिव्यक्त गर्ने भाषा र शब्दले सही या गलत निर्धारण गर्दछ। हाम्रो क्रिया अर्थात् हामी आफैं कस्सिएर जुन काम गर्छौं त्यो कर्म हो। आफैं समावेश हुने कर्ममा प्रेम र होश अवश्य जरूरी हुन्छ यदि चाहेको सफलता र परिणाम आओस् भनेर सोच्ने हो भने। हाम्रो निर्देशनमा कर्म हुन्छ। कतिपय अवस्थामा हामी स्वयं कर्म नगरी अरूलाई निर्देशन दिन्छौं र कर्म गर्न प्रेरित गर्छौं तर हाम्रो निर्देशन स्वार्थपूर्ण र नकारात्मक कर्मप्रति भयो भने त्यसको असर र परिणाम नकारात्मक नै आउँछ। त्यसैले कर्म गर्दापनि सचेतना अपनाउनुपर्ने हुन्छ।
मोक्षको ज्ञान
सन्यासः कर्मयोगश्च नि:श्रेयसक़रावुभौ।
तयोस्तु कर्मसन्यासात्कर्मयोगो विशिष्यते।।
सांसारिक बन्धनबाट मुक्ति पाउनु मोक्ष हो। सन्यस्त जीवन, सन्यासी अर्थात् सन्तुलनमा बाँच्ने कला रोज्नु सन्यस्त हुनु र मोक्षको मार्गमा प्रेरित हुनु हो। यो शब्द सुनेरै मानिस डराउँछन् र नाम समेत लिन चाहन्नन्। किनकी मोक्षको परिभाषा हामीलाई कठिन रूपमा बुझाउँदै आइएको छ।
सांसारिक बन्धन के हो ? चिन्ता, भय, क्रोध, लोभ, मोह, इर्ष्या, द्वेष, दु:ख, अशान्ति, निराशा, उदासिनता जस्ता मनका वृत्तिहरूसँग बाँधिनु नै सांसारिक बन्धन हो। यसबाट मुक्ति पाउन अर्थात् मोक्ष पाउन के गर्नुपर्छ ? आत्मानन्दमा जिउने, आत्मरमण, आत्मस्मरणमा रहने, आफ्ना मनका वृत्ति र अस्मिताप्रति होशपूर्ण हुने। यसको लागि फेरि त्यहि सूत्र आवश्यक हुन्छ- आफूलाई प्रेम गर्ने र अरूलाई ध्यान दिने