यी डाडा बन बेत चौर पहरा,यस्तै रहन्छन् सदा ।

कविता

शीर्षक :-“”चराचर””
[छन्द :- शार्दूल विक्रीडित]

Sagan sahari bhawan nirman aayojana

यी डाडा बन बेत चौर पहरा,यस्तै रहन्छन् सदा ।
गङ्गा सागरमा यिनी नद नदी,रम्दै वहन्छन् सदा ।।
त्यो पारी हिम शैल बाट सविता,झुल्किन्छ आभा दिँदै।
तेले खप्तडका विशाल चुचुरा,हेर्छन् सधैँ सम्झिदैँ ।।
-१-
पुस्ता धेर बिते गए जनम भै,क्यै किर्ति राखे बरू ।
बेगन्ती कति छन् भनूँ म कसरी,बाजे बराज्यूहरू ।।
जो छन् चाड तिहार पर्व अहिले,संस्कार चाला भरी ।
त्रेता द्वापर सत्य साथ कलिमा,चल्नेछ यस्तै गरि ।।
-२-
फल्थे जो फलफूल अन्न पहिले,ऐले नि फल्छन् सदा ।
घुम्छन् बर्ष सदैव बाह्र महिना,यस्तै सदा सर्वदा ।।
देखिन्छन् सब दृष्य एक थलमा,आकाश उस्तै सबै ।
हावा चल्दछ एकनास भवमा,रुक्दैन कैल्यै कवै ।।
-३-
द्यौता मन्दिर धर्म शास्त्र अघिका,जो जे थिए सिर्जन ।
उस्तै रीत परम्परा छ अहिले,गर्छन् उसै पूजन ।।
जन्मिन्छन् अनि मर्दछन् अवनिमा,प्राणी अनेकौँ यहाँ।
छोड्छन् यी सुख भोग एक क्षणमा,ती साथ लान्छन् कहाँ ?
-४-
मेरै हो सब चीज भन्छ जसले,खै साथ के के गयो ?
छोड्दैनन् झन लोभ प्राण रहँदा,चाला अचम्मै छ यो ।।
के ल्यायौँ सँग साथ जन्म पलमा,बुझ्ने यहाँ को छ र ?
छुट्नेछन् परिवार रत्न मणि नै,के साथमा जान्छ र ?
-५-
हामी पात्र समान नाटक न हो,संसार यो सुन्दर ।
यी झुप्रा सब गाउँ या शहरका,डेरा भनौँ या घर ।।
जो जे छन् सब चीज यो धरणिका,चल्नेछ कालान्तर ।
दैवी सिद्ध सवै चराचर यहाँ,फेरिन्छ यो नश्वर ।।
-६-

डिल बहादुर महरा”अविचल”

Shaileshwori
Loading...