१३ औँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरणसार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी सर्वाजनिक गरिएको विवरण अनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पूर्वाधार निर्माणमा विगतदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले जानकारी गराउनुभयो ।
यस्तै पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय संघलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उहाँले बताउनुभयो । सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको ३ महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरे पनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताउनुभयो । गत वर्षबाट महामारीका रुपमा फैलिएको कोभिड-१९ र सागमा सहभागी राष्ट्रहरुबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागी राष्ट्रको ओलम्पिक कमिटीबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उहाँले बतउनुभयो ।
सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । १ करोड ९३ लाख ८० हजार २ सय २४ रुपैयाँ भने फ्रिज भएको उहाँको भनाइ छ । नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार रुपैयाँ दिएको थियो । यस्तै टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० रुपैयाँ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ प्राप्त भएको उहाँले जानकारी गराउनुभयो । साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८ सय ४ रुपैयाँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ ।
यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८ सय ८१ रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ । यस्तै सचिवालय खर्च (काठमाडौँ) ६ करोड ७४ लाख, ५६ हजार ४ सय ७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २ सय २४ र जनकपुरमा ८० लाख ३७ हजार २ सय १२ रुपैयाँ खर्च भएको छ ।
१४ औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भए पनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि उहाँले बताउनुभयो ।