आइपिएलको दशौं खेल सुपर ओभरमा, मुम्बई पराजित
इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । जवाफमा बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्सले ६ बल खेल्दै लक्ष्य पुुरा गरे । सुपरओभरअघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । मुम्बईका लागि ईशान किशानले सर्वाधिक ९९ र काइरन पोलार्ड ६० रनमा अविजित रहे । बैंग्लोरका इसुरु उडानाले सर्वाधिक २ विकेट लिए । दुबै इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । जसमा एबी डी भिलियर्सले अविजित ५५ रन बनाए भने र आरोन फिन्चले ५२ रन जोडे । कप्तान विराट कोहली तेस्रो खेलमा पनि असफल भए । उनले मात्र ३ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट हात पारे । प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुनेछ ।