नेपाल आउने पर्यटकले अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने

असोज १३, काठमाण्डौ
नेपाल घुम्न आउने विदेशी पर्यटकले सात दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने भएको छ । सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरेर अनिवार्य सात दिन क्वारेन्टाइन बस्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले जानकारी दिए । अक्टोबर १ देखि नेपाल आउने पर्यटकले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने उनले जानकारी दिए । उनले भने, पदयात्रा र हिमाल आरोहण गर्न आउने पर्यटकलाई मात्र खुला गरिएको छ । सामान्य अवस्थामा घुम्न आउनेलाई अहिले अनुमति दिएको छैन । नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडि सम्मको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समय सम्मको लागि हुनेछ । अनअराइभल भिसा प्राप्त हुने विन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृति को कागजात समेत हेरिने भएको छ । कम्तीमा सात दिन क्वारेन्टाइन बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ । त्यसको कागजातसमेत त्यही समयमा देखाउनुपर्ने भएको छ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने सर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ ।

Sayalb

थाहा खबर बाट साभार

Shaileshwori
Loading...