अभिभावक बिहिन बालकहरुलाइ सहयोग


डोटी, साउन २५ गते । लामो समय सम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कबिहिन भएपछि बिचल्लीमा परेका तिनजना बालकहरुलाइ वडा कार्यालयले खाद्यान्न र लुगा कपडा सहयोग गरेको छ । स्थानीय दिपक खातीको समन्वयमा सायल गाउँपालिका वडा नंं ६ का अध्यक्ष धनबहादुर साउँदले आफै गएर अलपत्र परेका बालकहरुलाइ खाद्यान्न र लत्ता कपडा बितरण गर्नु भएको छ ।
वडा कार्यालयले बालकहरुका लागि चामल, चिउरा, दाल, लुगा, तेल लगायतका सामाग्रीहरु बितरण गरेको बताएको छ । वडा अध्यक्ष धनबहादुर साउँदले भन्नुभयो,– ‘तत्कालका लागि आँठहजार बराबरको खाद्यान्न र लुगाकपडा सहयोग गरिएको छ, थप खाद्यान्न र अन्य कुरा आबश्यक परे गाउँपालिका सँग समन्व गरेर अगाढी बढ्छौं ।’
वडा कार्यालयले बालकहरुको हेरचाह र पालनको लागि बिभिन्न निकायमा समन्वय गरिरहेको जानकारी दिनु हुदै वडा अध्यक्ष साउदले बालकहरुको उचित ब्यवस्थापन नभए सम्म वडा कार्यालयले नियमित सहयोग गर्ने बताउनुभयो ।
अभिभावक बिहिन बालकहरु अलपत्र भएको बिषयमा गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा समाचार प्रकाशित भए पछि बालकहरुलाइ अन्य क्षेत्रबाट समेत सहयोगको लागि इच्छा ब्यक्त गरिएको छ ।
सायल गाउँपालिका –६ नारागाउँका स्थानीय दिपक बहादुर खातीले बालकहरुको सहयोगका लागि अभियान नै सञ्चालन गर्नुभएको छ ।
बुवाको मृत्यु भएसँगै आमाले छोडेर बेपत्ता भएपछि आफ्ना दुइ भाईहरुको लालनपालनको जिम्मा नौ बर्षका लक्ष्मणको जिम्मामा आइपरेको छ ।
